सालिकसँग सेल्फी | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

सालिकसँग सेल्फी

salik sanga selfie

चितवन, ४ जेठ ।  तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित जिप दुर्घटनामा परेको स्थल दासढुंगा। नारायणगढ–मुग्लिङ सडक खण्डको त्रिशूलीको किनारको यो ठाउँमा दुई नेताको पूर्ण कदको सालिक छ। दैनिक हजारौं सवारीसाधन गुड्ने दासढुंगामा ३६४ दिन सालिक एक्लोजस्तै देखिन्छ। जेठ ३ गते भने यहाँ निकै चहलपहल हुन्छ, प्रिय नेताप्रति श्रद्धासुमन व्यक्त गर्नेहरूको।

सालिकमा माल्यार्पण गर्ने, श्रद्धाञ्जलि व्यक्त गर्ने, अभिवादन गर्ने चलन त पुरानै हो। अचेल भने सालिकसँग सेल्फी खिच्नेको भीड लाग्छ यहाँ। शुक्रबार नेकपाका कार्यकर्ता सालिकलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्न व्यस्त थिए। एक कार्यकर्ताले भने, ‘जीवित छँदा भेट्न पाएनौं। सालिकसँग सेल्फी लिएर नेताहरूप्रति सम्मान गर्नै परो नि !’

कार्यक्रम स्थलमा पुग्ने जोकोहीले सालिकअगाडि पुगेर सेल्फी खिचे। कार्यकर्ताले सेल्फी खिच्दा नेताहरू मुसुक्क हाँसेर पोज दिन्थे। कोही झन्डा बोक्थे भने कोही मुड्की पारेर लालसलाम गर्थे। सालिकसँग सेल्फी लिने क्रम दिनभर चलिरह्यो।

सेल्फी खिच्नेमा संसद्को कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल, राष्ट्रियसभा राष्ट्रिय हित सरोकार समिति सभापति पार्वती रावल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा लगायत थिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।