काठमाडौं, २९ बैशाख । हरेक वर्ष अङ्ग्रेजी पात्रोको मे १२ का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ । आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटेङ्गेलको जन्मदिनको स्मृतिमा यो दिवस अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिन्छ ।
अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को अगुवाइमा सन् १९६५ मे १२ देखि मानवीय स्वास्थ्यका लागि नर्सिङ सेवाको महत्व र नर्सको भूमिका उजागर गर्ने दिनको रुपमा यो दिवस मनाउन सुरु गरिएको हो ।
विश्वभर जस्तै नेपालमा पनि नर्सिङ दिवस मनाइएको छ । विरामीको सेवा गर्ने अत्यन्त सम्मानित यो पेशामा नर्सहरुको जिम्मेवारी र उत्तरदायित्व निकै धेरै हुने गर्दछ । सेवा नै यसको मुल धर्म हो । नर्सिङ पेसा प्रत्यक्ष सेवासँग जोडिएको हुन्छ । वैज्ञानिक तथ्य तथा प्रमाणहरूको आधारमा रहेर, पेशागत ज्ञान, सीप र स्रोतको समायोजन गरी नर्सिङका मूल्य र मान्यता आत्मसाथ गर्दै सबैका लागि न्यूनतम लागतमा स्वास्थ्य सेवा प्रदान गर्नु नै नर्सहरुको मुल दायित्व हो ।
वि.सं. २०१३ सालमा सुरेन्द्र भवन काठमाण्डौँबाट नेपालमा औपचारिक रुपमा नर्सिङ शिक्षाको अध्ययन अध्यापन सुरुवात भएको पाइन्छ । स्वास्थ्य सेवा प्रदान गर्न व्यवहारिक, भावनात्मक र मानवीय दृष्टिकोणबाट नर्स तथा मिडवाइफलाइ महत्वपूर्ण हिस्सा पनि मानिन्छ । तर हाम्रो देशमा अध्ययनपश्चात् नर्स तथा मिडवाइफका लागि रोजगारीका अवसरहरू अत्यन्त न्यून देखिएका छन् । हातमा सर्टिफिकेट बोकेर भोलेन्टियर सेवा गर्न पर्खिनेको संख्या अधिक छ । महिनौँसम्म पनि जागिरको आशामा बेतलवी सेवा गर्नु पर्ने बाध्यता रहेको नर्सहरुले दुखेसो गरेका छन् ।
वर्षेनी उत्पादन हुने पाँच हजारभन्दा वढी नर्स भोलेन्टियर सेवामा पसिना बहाइरहेएका छन् । प्राविधिक दक्षता हासिल गर्दा गरिएको व्यक्तिगत, पारिवारिक तथा आर्थिक लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न असफल भएको अनुभूतिले नर्सहरूलाई मनोसामाजिक असर पारिरहेको छ । जागिरको अवसर पाए पनि अत्यन्त न्यून पारिश्रमिक, अधिक कार्यवोझ, कामको अनिश्चितता, असहज वातावरण, अरु बढी अवसरको अभाव आदिले नेपाली नर्सहरूको मनोवल उच्च बन्न नसक्दा बर्षेनि बिदेशिने क्रम बढदो छ । अझ पछिल्ला दिनमा नेपालमा नर्सिङ शिक्षा नै विदेशमा जानको लागि गेट पासको रुपमा लिन थालिएको छ । नेपालमा जन्मने, हुर्कने र पढने तर काम चाहिं विदेशमा गर्ने मनोभावना बृद्धि भइरहेको छ । यसले योग्य मानिस विदेशिने मात्र नभइ नेपालमा दक्षजनशक्तिको अभाव हुने हो कि भन्ने खतरा पनि देखिएको छ ।
स्वास्थ्य सेवा प्रदान गर्ने दक्ष जनशक्तिको अभावले स्वास्थ्य सेवामा समेत प्रत्यक्ष असर पारेको देखिन्छ । राज्यले नर्सिङ शिक्षा र सेवाको व्यवस्थापनमा देखिएका कमजोरीलाई गम्भीरतापूर्वक मनन् गरी सुदृढीकरणमा ध्यान दिनु आवश्यक छ । र, गुणात्मक स्वास्थ्य सेवा प्रदान गर्न नर्सहरूले पनि आफ्नो कर्तव्य बिर्सिनु हुँदैन । नर्सिङ क्षेत्रमा देखिएका यी समस्याको व्यवस्थापनका लागि आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । राज्यले प्रभावकारी नीति निर्माण र नीतिको कार्यान्वयन गराइ राज्य संयन्त्रको एक महत्वपूर्ण भाग स्वास्थ्य क्षेत्रका स्तम्भ नर्सहरूको तथा समग्र नर्सिङ क्षेत्रका यी मननयोग्य बेथितिको समधानमा तत्परताका साथ लाग्नु पर्दछ ।