६ वर्षमा पनि बनेन कमलविनायक–नगरकोट सडक | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

६ वर्षमा पनि बनेन कमलविनायक–नगरकोट सडक

nagarkot-kamalbinayak sadak

काठमाडौं, २८ बैशाख । भक्तपुरको कमलविनायक भत्क्यापाटीदेखि नगरकोट जोड्ने १५.६६ किलोमिटर सडक निर्माणको काम चाँडो सक्न स्थानीयवासीले दबाबको अनौठो तरिका अपनाएका छन् । उनीहरूले जनप्रतिनिधि, कर्मचारी र ठेकेदारलाई फोन गरेर काम चाँडो सक्न दबाब दिने अभियान चलाएका छन् । दुई वर्षमा सक्ने सम्झौता गरेको ठेकेदार कम्पनीले ६ वर्ष बित्दा पनि सडक बनाइसकेको छैन ।

भत्क्यापाटीदेखि नगरकोटसम्मको सडक चौडा र कालोपत्रे गर्न ३ असार ०७३ मा काम सक्ने गरी भारतीय कम्पनी एआइपिएल र सैलुङ कन्स्ट्रक्सन जेभीले २ असार ०७१ मा ठेक्का सम्झौता गरेका थिए । तर, तीनपटक म्याद थप्दासमेत काम नसकेर चौथोपटक म्याद थपका लागि पत्राचार गरेको एक वर्ष पुगिसकेको छ । तेस्रोपटक थपिएको म्याद गत जेठमै सकिएको थियो । काम भने ठेकेदार कम्पनीले हालसम्म ५५ प्रतिशत मात्रै गरेको छ । सडक निर्माणमा ढिलाइ हुँदा सास्ती भएको भन्दै स्थानीयवासीले सरोकारवाला निकायका जिम्मेवार व्यक्तिलाई दैनिक टेलिफोन गरेर दबाब दिन थालेका हुन् ।

संघर्ष समिति गठन गरी सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गर्ने र दबाब दिने कार्यक्रम सञ्चालन गरिएको संयोजक राजकुमार लामिछानेले बताए । उनले भने, ‘स्थानीय तह, ठेकेदार, आयोजना कार्यालय, सांसद र सरकारलाई पनि ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गरायौँ, अहिले फोन गरेर दबाब दिने अभियान थालेका छौँ ।’

स्थानीयले विरोधका कार्यक्रम थालेपछि निर्माण व्यवसायी, आयोजना र स्थानीयबीच छलफल भएको थियो । कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधिले आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि अनुगमन समिति गठन भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाको संयोजकत्वमा गठित समितिले सडकको अनुगमन गरी समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);