अनुदानको चामल बाटामै बिक्री | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८३, मंगलबार

अनुदानको चामल बाटामै बिक्री

close up of basmati rice

रुकुम,  २८ बैशाख ।  सरकारले खाद्यान्न कम उत्पादन हुने दुर्गमका स्थानीयवासीका लागि अनुदानमा चामल पठाउँदै आए पनि सम्बन्धित व्यक्तिकहाँ पुग्न नसकेको पाइएको छ। ठेकेदार र खाद्य संस्थानका कर्मचारीको मिलोमतोमा बीच बाटामै बिक्री गरिएपछि लक्षित व्यक्तिहरूले चामल नपाएको खुलासा भएको हो। डोल्पाका स्थानीयका लागि भनेर पठाइने अनुदानको चामल रुकुममै बिक्री भएको हो।

संस्थानबाट डोल्पाको मुड्केचुला गाउँपालिका–७ मा रहेको सर्मी डिपोका लागि पठाइएको चामले रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका–६ त्रिवेणीमा बिक्री भएको हो। हजार क्विन्टल चामल ठेकेदारले सम्बन्धित ठाउँमा नपु-याई बीच बाटामै बिक्री गरेका हुन्। अनुदानको चामल बाटोमै बिक्री भएसँगै मुड्केचुलाका स्थानीयवासीले सस्तोमा खाद्यान्न नपाउने निश्चित भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको चामल ठेक्कामार्फत डिपोमा बर्सेनि लिने गर्छ। यस वर्ष उक्त डिपोमा चामल ढुवानी गर्न सल्यानको बिसी ट्रेडर्सले ठेक्का पाएको थियो।

दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको उक्त चामल त्रिवेणीका स्थानीयले किनेका छन्। आफूहरूले सस्तोमा घरमै चामल पाएपछि किनेको स्थानीय रामकृष्ण सार्कीले बताए। ठेकेदारले आफूहलाई ५९ रुपैयाँ प्रतिकिलोमा चामल बिक्री गरेको उनले जनाए। ठेकेदार कम्पनीका प्रतिनिधि जनक बुढाले सर्मी डिपोका लागि ल्याइएको एक हजार क्विन्टल चामल त्रिवेणीमा बिक्री गरेको सार्कीको दाबी छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।