संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता

समाजवादी पार्टी, नेपाल

काठमाडौं, २३ बैशाख । सरकारमा रहेको संघीय समाजवादी फोरम, नेपाल र प्रतिपक्षमा रहेकोे नयाँ शक्ति पार्टी, नेपाल मिलेर ‘समाजवादी पार्टी, नेपाल’ घोषणा गरिएको छ । संघीय समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच दुई पार्टी एकता भई समाजवादी पार्टी, नेपाल स्थापना गरिएको घोषणा गर्नु भएको हो ।

संघीयता, सुशासन, समृद्धि र समाजवादलाई मुख्य राजनीतिक लक्ष्य बनाइएको सो पार्टीको केन्द्रिय अध्यक्षको जिम्मेवारी यादवलाई र संघीय परिषदको अध्यक्षको जिम्मेवारी डा. भट्टराईलाई दिइएको छ । कार्यक्रममा बोल्दै नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि पार्टी एकीकरणमा आउन आह्वान गर्नु भयो ।

उहाँले संघीयता र पहिचानका पक्षधर शक्तिहरु मिलेर मुलुकलाई समाजवादी बाटोमा पु-याउन सो पार्टी गठन गरिएको पनि स्पष्ट पार्नुभयो । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. भट्टराईले संविधान संशोधनको माग पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिनु भयो । उहाँले सडक आन्दोलनकै बलमा मुलुकलाई एकतावद्ध, स्वाधिन र समृद्ध बनाउन दुई पार्टीबीच एकता गरिएको पनि स्पष्ट पार्नु भयो ।

नवगठित समाजवादी पार्टीको वरिष्ठ नेतामा अशोक राई रहनु भएको छ भने सहअध्यक्षको जिम्मेजारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । २३ सदस्यीय पदाधिकारी रहेको समाजवादी पार्टीमा ८ जना उपाध्यक्ष र ३ जना महासचिव रहेका छन ।