एमाले पकडमा कांग्रेस–माओवादी तालमेलको गृहकार्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले पकडमा कांग्रेस–माओवादी तालमेलको गृहकार्य

काठमाडौं, १९ भाद्र  । प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ । दसवटा जति स्थानीय तहमा तालमेलको गृहकार्य भइरहेको छ । विशेष गरी एमालेले जित्ने सम्भावना भएका नगरपालिका र गाउँपालिकालाई तालमेलको प्राथमिकतामा राखिएको छ ।

 

कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए । ‘केन्द्रमा त्यस्तो प्रयास भएको छैन, स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल गर्न अधिकार दिइएको छ,’ उनले भने । माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहले तालमेलबारे वार्ता चलिरहेको जानकारी दिए । ‘दुई पार्टीबीच वार्ता भइरहेको छ, तालमेल गर्ने सैद्धान्तिक कुरा भइसकेको छ, कुन–कुन स्थानमा गर्ने भन्नेबारे अन्तिम टुंगो लगाउँदै छौं ।’

 

दुवै दलमा उम्मेदवारका आकांक्षीको संख्या धेरै भएकाले त्यसलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । कांग्रेसले आइतबारसम्म १ सय १६ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टी संस्थापन उम्मेदवार छनोटमा एकलौटी बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

 

प्रदेश २ को उम्मेदवारको टुंगो लगाउन पार्टीले महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री विमलेन्द्र निधिसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मा लगाएको थियो । झन्डै २० दिनदेखि उम्मेदवार चयनका लागि कांग्रेसले निरन्तर बैठक राख्दै आएको छ । बैठकमा सहमति भएका स्थानमा समेत पार्टी संस्थापन पक्षले निर्णय परिवर्तन गरी आफ्ना निकटलाई उम्मेदवार बनाएको भन्दै महामन्त्री कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरू शनिबार बैठक छाडेर निस्केका थिए ।

 

आइतबार महामन्त्री कोइराला पोखरा गएकाले बैठक बसेन । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार महामन्त्री फर्केलगत्तै बाँकी स्थानको टुंगो लगाइनेछ । उनले सभापति देउवाको निर्देशनअनुसार टुंगिएका १ सय १६ स्थानीय तहका उम्मेदवारको टिकट सम्बन्धित जिल्लाका पार्टी सभापतिमार्फत पठाइएको बताए ।

 

पौडेल पक्षले सप्तरी, सिरहालगायत स्थानमा पूर्वसहमति उल्टाउन खोजिएको आरोप लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट उम्मेदवार चयनमा निर्णय लिन पूर्वमहामन्त्री निधिलाई जिम्मा दिएका छन् । धनुषा निवासी निधिले प्रदेश २ मा आफ्नो राजनीतिक प्रभाव बढाउन आफू निकटलाई उम्मेदवार बनाउने काम भएको भन्दै पौडेल पक्षीय नेता चिढिएका हुन् । ‘यसरी गयो भने चुनावलाई नराम्रो असर गर्छ,’ पौडेल निकट एक नेताले भने, ‘१ सय ३६ स्थानमा केही सिट छाडेर सबै आफ्नै पक्षकालाई दिने प्रयास भएको छ ।’

 

यसैबीच, राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारसम्म ६ वटा जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाएको छ । उम्मेदवार छनोटका लागि स्थानीयस्तरमा ८ वटै जिल्लामा उच्चस्तरीय समितिले काम गरिरहेका छन् । राजपा महासचिव केशव झाका अनुसार ८० प्रतिशतजतिमा सहमति भइसकेको दाबी गर्दै बाँकी मंगलबारसम्म टुंगो लाग्ने बताए । आइतबार धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साबाट उम्मेदवारको सिफारिस केन्द्रमा आएको छ । सिरहा र रौतहटको सूची सोमबारसम्म आइपुग्ने झाले बताए ।

 

कतिपय ठाउँमा तीन जना र त्यसभन्दा बढी नाम केन्द्रमा आएको छ । स्थानीय संयन्त्रबाट आएका नाममध्ये अध्यक्षमण्डलको बैठकबाट टुंगो लगाउने गरी छलफल भइरहेको झाले बताए । वीरगन्ज महानगरपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने विवाद राजपामा अझै छ । स्थानीय संयन्त्रले राजेशमान सिंह, विमल श्रीवास्तव र सुरेन्द्रप्रसाद कुर्मीको नाम पठाइसकेको छ ।

आजको कान्तिपुरमा खवर छापिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);