काठमाडौं, २० बैशाख । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव शुक्रबार नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो प्रणाली ओडीसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम केही प्रभावित हुनेछ । पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै चक्रवातको प्रभावले हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।




