काठमाडौं, १७ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताउनु भएको छ ।
अध्यक्ष दाहालले बैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भिर दुर्घटनामा फस्ने सम्भावना पनि औंल्याउनु भयो । १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मजदुरहरुलाई पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढन आह्वान गर्नु भयो ।
अध्यक्ष दाहालले विश्वमा ठूल्ठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने पनि बताउनु भयो ।