काठमाडौं, ११ बैशाख । भारतको बिहार राज्यको राजधानी पटनामा भइरहेको अन्तर्राष्ट्रिय खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
पटनाको पाटलीपुत्र स्पोर्टस् कक्प्लेक्समा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालकी रुपा रानाले कातातर्फ स्वर्ण पदक जितेकी हुन् । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतकै पूणेमा सम्पन्न प्रतियोगितामा समेत स्वर्ण पदक जितेकी थिइन् । उक्त स्पर्धामा भारतकी अञ्जली कुमारीले रजत तथा भारतकै अनिता कुमारीले कास्य पदक जितिन् । बुधबार प्रतियोगिताका अन्य खेल हुनेछन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलंका भूटान, बङ्गलादेशलगायतका दुई सय २१ खेलाडी सहभागी रहेको अल इण्डिया कराते फेडेरेशनका अध्यक्ष राजु थापाले जानकारी दिए ।
नेपालबाट प्रतियोगिताका लागि २६ खेलाडी र नौ पदाधिकारी पुगेका छन् । नेपालबाट विभिन्न उमेर समूह र तौल समूहमा रुपा राना, दिलमाया कोइराला, विपिन राना, सन्तु थारू, अमन सोती मगर, छिरिङ गुरुङ, दिलबहादुर बुढाथोकी र सन्दीप चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै अन्य खेलाडीमा सुमन परियार, सन्दीप चौधरी, शिवानी बस्नेत, विबिन गुरुङ, सुनिल रावल, रोशन राना, इशा सारु, आकृति राना, प्रियंका थापा, शाहिल गुरुङ, जीवन पुन, मिलन श्रीश, प्रसुन शाही, सरोज क्षेत्री, आदित्य क्षेत्री, विवेक सेन ठकुरी, गौरव पौडेल र अमीशा पोखरेल छन् । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।