सिरहा, ७ बैशाख । लहान नगरपालिका २४ गोविन्दपुर झुटकी टोलकी दुखनी सदाय ६५ वर्षकी भइनु्। सामाजिक सुरक्षा भत्ता पाउने उमेर पुग्नलाग्दा सम्म उनले नागरिकता पाएकी छैनन्। यतिमात्रै होइन, उनको परिवारमा छोरा राजकुमार सदाय (३५) र बुहारी अनिता सदाय (३२) पनि नागरिकताविहीन छन्। सदाय परिवारले पुस्तौं देखि नागरिकता नपाएको हो।
दुखनीका पति बन्हु सदायको एक वर्षपहिले मृत्यु भयो। उनले जतिपटक सरकारी कार्यालय धाए पनि नागरिकता पाएनन्। बन्हुको बुबा मुनरको उही अवस्था थियो। नागरिकता नहुँदा उनीहरू सेवासुविधाबाट वञ्चित हुनुपरेको छ।
राजकुमारकी छोरी भगवती सदाय, छोरा राकेश सदाय र मुकेश सदाय छन्। भगवती र राकेश जन्मदर्ता बनाउन तत्कालीन गाविस कार्यालयले आमाबुबाको नागरिकता खोजेका थिएनन्। कान्छो छोरा मुकेशको जन्मदर्ता बनाउन जाँदा अभिभावकले नागरिकता खोजेका थिए। नागरिकता नहुँदा मुकेशको जन्मदर्ता बनेन्।
मुकेश गाउँको प्राथमिक विद्यालयमा पढ्न जान्छन्। तर, जन्मदर्ता नहुँदा उनको नामांकन भएको छैन। नागरिकताबिना उनको अभिभावकले बैंकमा खाता खोल्न पाएका छैनन्। ‘तत्कालीन गाविस, वडा, सिडियो कार्यालय जति धाए पनि कुनै उपाय लागेन,’ राजकुमारले भने, ‘हजुरबा,बुबाले नागरिकता बनाउन सकेनन्। अहिले आफूहरूलाई दुःख भोग्नुपरेको छ। सरकारको नियम कानुनले हामीलाई अनागरिक जस्तै बनाएको छ।’ उनी खोलामा गिट्टी झार्ने काम गर्छन्। कमाएको पैसाले घर बनाउने इच्छा भए पनि नागरिकता नहुँदा सुकुम्बासी बनेरै बस्नुपरेको उनले बताए। उनले कमाएको सबै पैसा घर व्यवहार चलाउनमै खर्च हुने गरेको छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।