काठमाडौं, ४ बैशाख । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाले सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका छन् । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो सुनुवाईको क्रममा सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका हुन् ।
उनले समिति समक्ष निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याउँदै त्यसका लागि सबै स्थानीय तहमा मतदाता नामावली संकलन र अध्यावधिक हुने गरी ‘निर्वाचन समन्वय ईकाई’ स्थापना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
आफू प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित भए स्थानीय तहले पनि निर्वाचनको अपनत्व पाउने गरी सबै स्थानीय तहमा निर्वाचन समन्वय इकाई स्थापना गर्ने थपलियाको योजना छ । थपलियाले प्रदेशमा पनि निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक्ता औल्याए ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्न मतदाता नामावली संकलन र अध्यावधिक गर्न अनलाईन प्रणालीको विकास गर्ने पनि समिति समक्ष प्रतिवद्धता व्यक्त गरे । निर्वाचन प्रणालीको आमूल परिवर्तन गरेर मात्रै निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन सकिने उनको भनाई छ ।