नेपालाई निरक्षरहरुको होइन, विद्वानहरुको देश बनाउनु पर्छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

नेपालाई निरक्षरहरुको होइन, विद्वानहरुको देश बनाउनु पर्छ : प्रम ओली

ko oli

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ’ प्रम ओलीले भने ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको बताए । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’ प्रम ओलीले भने ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।’

गतबर्ष देखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरे । ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन’ प्रधानमन्त्री ओलीले भने । अन्तरक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेलले सहजिकरण गरेका थिए ।