काठमाडौं, ३ बैशाख । विश्व सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरु योजना तयार भएको छ । सम्पदा तथा पर्यटन समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २२ सय मिटर दुरीमा रहेका दुवै विश्व सम्पदालाई पदयात्राले जोड्ने गुरु योजना तयार पारिएको जानकारी गराएको हो ।
सो गुरुयोजना विश्व सम्पदा दिवसको दिन आगामी बैशाख ५ गते बिहीबार सार्वजनिक गरिने पनि समितिका संयोजक न्हूच्छेकाजी महर्जनले जानकारी दिए । हनुमान ढोका दरबार क्षेत्रमा सो गुरुयोजना सार्वजनिक गर्ने र त्यस अघि सोही दिन बिहान स्वयम्भू भुईखेलदेखि हनुमानढोका दरबार क्षेत्रसम्म ¥याली आयोजना गरिने कार्यक्रम पनि तय गरिएको छ।
स्वयम्भूदेखि हनुमानढोकासम्मको सम्पदाहरुलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सो -याली आयोजना गर्न लागिएको पनि समितिले जनाएको छ ।
दुवै विश्व सम्पदाको बीचमा रहेका २० वटा भन्दा बढि स्थानीय सम्पदाहरुको पहिचान गराउने उद्देश्यका साथ गुरु योजना तय गर्न एक वर्ष अघि सो समिति गठन गरिएको थियो । एक वर्ष अघि पनि विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको अगुवाईमा हनुमानढोकादेखि स्वयम्भूसम्म पदयात्रा गरिएको थियो ।