माग सम्बोधन गर्न सरकारलाई चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

माग सम्बोधन गर्न सरकारलाई चिकित्सक संघकाे ७२ घण्टे अल्टिमेटम

काठमाडौं, २८ चैत । नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ७२ घण्टा भित्र पनि सरकारी चिकित्सकहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सरकारविरुद्धको आन्दोलनलाई झनै एकतावद्ध भएर अघि बढाउन पनि देशभरका सबै चिकित्सकहरुलाई आह्वान गरे । सरकारले चिकित्सकहरुलाई पीडा दिने गरी गरिएको कर्मचारी समायोजन नसच्चिए देशभरका चिकित्सकहरु राजधानी बाहेक अन्य कुनै पनि ठाउँमा सेवाका लागि जान नसक्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

संघले जब्बरजस्ती समायोजन गरेर सरकारले चिकित्सकहरुलाई पीडा दिने, प्रहरीलगाएर दुर्व्यवहार गर्ने काम गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ । स्थानीय सरकार मातहत रहने गरी सरकारले चिकित्सकहरुको पनि समायोजन गरेपछि त्यसको विरोधमा सरकारी चिकित्सकहरुले विगत ५ दिनयता आकस्मिक बाहेकका सरकारी अस्पतालका सबै सेवा बन्द गरी आन्दोलन सुरु गरेका छन् ।

अध्यक्ष श्रेष्ठले त्यसप्रति नेपाल चिकित्सक संघको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आफूहरुको अडानबाट पछि नहट्न आन्दोलनरत चिकित्सकहरुलाई आग्रह गरे ।