काठमाडौँ, २८ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाब आएपनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारेका छन् ।
बुधबार एक विशेष साक्षात्कारमा बोल्दै नेता सापकोटाले यस्तो बताएका हुन् । उनले भने,‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं । हामीले सरकार र अख्तियारलाई सहयोग पुग्नेगरि नै प्रतिवेदन ल्याएका छौं ।’
नेता सापकोटाले यो प्रकरणको उजागरणसँगै मुलकमा बहु–आयामिक भ्रष्टाचारको रहस्योद्धघाट्न भएको सुनाए । उनले भने,‘अहिले हाम्रो देशमा बहु–आयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ । एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन् ।’
प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आएको सुनाउँदै यो लज्जाको विषय भएको उनको टिप्पणी छ । उनले भने,‘भू–माफिया र जग्गा दलालहरु सलबलाए, यो त दुःखको कुरा हो । मुलुकमा अहिले भ्रष्टाचारको सिकञ्जामा परेको छ।’ यो समाचार आजको हिमालय टाइम्स दैनिकमा छ ।
उनले आफूहरुले तारागाउँ होटेलकै सवालमा पनि सत्यको अन्वेषण गरेको सुनाए । उनले भने,‘भ्रष्टाचारको नियन्त्रण गर्नुपर्छ । राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्छ ।’ उनले हतपत कुनै जिम्मेवारी नलिने र लिएपछि त्यसलाई पूरा गरेरै छोड्ने आफ्नो स्वभाव रहेको सुनाउँदै भने,‘जिम्मा लिएपछि त्यसलाई राम्रोसँग पूरा गरेर छोड्ने स्वभाव छ । यो केशमा पनि मैले त्यही गरें ।’
सापकोटाले छानबिनको लागि आफूहरुले पटक–पटक गरि १४ वटा बैठक गरेको पनि सुनाए । उनले भने,‘यो १४ महिनाको अवधिमा हामीले औपचारिक तथा अनौपचारिक रुपमा धेरैपटक छलफल ग¥यौं, सर्वोच्च अदालत, उच्च अदालत र विशेष अदालतका पूर्व न्यायाधीशहरु, कानूनविद् तथा विज्ञहरुसँग सयौं पटक छलफल ग¥यौं ।’




