काठमाडौं, २४ चैत । एचआईभी-एड्स संक्रमित ५६ वर्षीय पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
एचआईभी-एड्स संक्रमितहरुले पनि राष्ट्र र समाजका लागि योगदान गर्न सक्षम छन भन्ने सन्देश विश्वभर दिने उद्देश्यका साथ श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागिएको जानकारी दिए ।
आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आगामी शुक्रबार सगरमाथा आरोहणका लागि त्यसतर्फ जान लागेको बताए । श्रेष्ठले साहस गरेकाले उनलाई सगरमाथा आरोहणको लागि साथ दिइएको आरोहण अभियानका संयोजक विष्णुबहादुर भट्टराईले जानकारी दिए ।
आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भईसकेको छ ।