क्रिकेट मैदान बनाउने विषयमा प्रदेश सरकार र जिल्ला क्रिकेट संघबीच विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

क्रिकेट मैदान बनाउने विषयमा प्रदेश सरकार र जिल्ला क्रिकेट संघबीच विवाद

विवशकुमार सेजुवाल

सुर्खेत, २३ चैत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट मैदान बनाउने विषयमा प्रदेश सरकार र जिल्ला क्रिकेट संघ सुर्खेतबीच विवाद बढेको छ । कर्णाली प्रिमियर लिग सञ्चालनको लागि भन्दै क्रिकेट संघले वीरेन्द्रनगरमा रहेको सरकारी जमिनमा डोजर लगाउन थालेपछि प्रदेश सरकारले आपत्ति जनाउँदा विवाद बढेको हो ।

जिल्ला क्रिकेट संघ सुर्खेतले कर्णाली प्रदेशमा केपिएल क्रिकेट संचालनको तयारी गरेको छ । तयारी स्वरुप संघले सुर्खेतको वीरेन्द्र नगर नगरपालिका वडा नं. ६ मा त्यतिकै प्रयोगहीन अवस्थामा रहेको २४० वर्गमिटर जमिनमा डोजर लगाइ मैदान बनाउन थालेको छ । कर्णाली प्रदेश सरकारसँग सल्लाह नै नगरी काम अगाडि बढाएको भन्दै प्रदेश सरकारले आपत्ति जनाएको छ ।

डोजर लगाइ मैदान सम्माउने काम भइरहंदा क्रिकेट संघ र प्रदेश सरकारबीच अहिले विवाद बढेको हो । केपिएल खेलाउने भए प्रदेश सरकारसँग सहकार्य गर्नुपर्छ भन्दै सामाजिक विकास मन्त्री दल रावल क्रिकेट संघले सल्लाह नगरेकोले सहयोग गर्न नसकेको बताए ।

तर यता जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर के.सी भने सामाजिक विकास मन्त्रीको भनाइसंग असहमत छन् । सल्लाह गरेको छैन भन्ने मन्त्रीको भनाईलाई केसीले सिधै अस्विकार गरे । धेरै पटक नगर विकास समिति, नगरपालिका र सामाजिक विकास मन्त्रालयमा क्रिकेट मैदान बनाउने विषयमा छलफल भएको केसीको दावी छ ।

सुर्खेतमा अन्तर्राष्टिय मापदण्डको क्रिकेट मैदान बनाउने विषयमा सरोकारवाला सबै पक्षलाई ज्ञापनपत्र बुझाएको तर कसैले वास्ता नगरेको क्रिकेट संघ सुर्खेतका अध्यक्ष केसीको भनाई छ ।

कर्णालीमा क्रिकेट मैदान बनाउने विषयमा विवाद भईरहंदा खेलकूद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरी भने निर्माणको व्यावस्थापन केपिएल भैसकेपछि यसको जिम्मा सबैले लिनु पर्ने बताउँछन् । गिरी मैदान निर्माणको विषयमा विवाद लम्बाउन नहुने पक्षमा छन् ।

कर्णाली प्रिपियर लिग प्रतियोगिता कहिलेदेखि संचालन हुने कति टिमले सहभागिता जनाउने भन्ने कुराको अहिले टुंगो लागि सकेको छैन । प्रतियोगित गर्न पहिले क्रिकेट मैदान चाहिएको क्रिकेट संघका अध्यक्ष श्रीधर केसी बताउँछन् ।

कर्णाली प्रदेशमा फुटबल वा क्रिकेट खेलको लागि अहिलेसम्म कुनै रंगशाला बनेको छैन । रङ्गशालाको अभाव भएपछि क्रिकेट संघ सुर्खेतले खेलकुद परिषदको नाममा रहेको जमिनमा डोजर लगाई रंगशाला बनाउन शुरु गरेको छ । तर संघ र प्रदेश सरकारबीचको विवादले यो कामले पूर्णता पाउने हो कि होइन भन्नेमा अहिले आशंका बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);