काठमाडौं, २२ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नभए संघीयताले देशलाई खारेज गर्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टस क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै उनले राजनीतिको नाममा लुटतन्त्र हावी भएको भन्दै संघीयताको खर्च मुलुकले धान्न नसक्ने बताए । उनले संघीयता खारेज नभए संघीयताले देशलाई नै खारेज गर्ने चेतावनी दिए।
उनले भने ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ । हामीले यो कुरा गाँजा खाएको भरमा भनेको होइन । नेपालका ठूला दलहरुले विदेशीले बोकाएको संघीयताको भारी बोकेका छन् ।’
भ्रष्टाचार मंहगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औल्याए । उनले भने ‘देशमा राजा फर्काउने खेल भैरहेको छ । सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसकेको छ ।’