काठमाडौं, २१ चैत । गत आइतबार असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा र पर्सामा ठुलो धनजनको क्षति भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखको केही वर्ष यता वर्षाको आंकलन मिल्ने गरेपनि हिमपात र हावाहुरीका लागि पनि अलग्गै प्रविधि जडान गर्न सकिरहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार सरकारले समयमा नै राडर तथा आवश्यक प्रविधिको जडान गर्न नसकेका कारण हावाहुरीका लागि पूर्वानुमान गर्न नसकेको बताएको छ ।
गत आइतबार असिना र पानीसँगै आएको हावाहुरीले मध्यतराइको बारा र पर्सामा ठुलो धनजनको क्षति भएको छ । दुई जिल्लाका विभिन्न ठाउँमा गरी २८ जनाको ज्यान गएको छ । हामीकहाँ जल तथा मौसम पूर्वानुमान महाशाखाले भएपनि उसले ७२ घण्टा भन्दा बढी समयको मौसमी पूर्वानुमान गर्न सक्दैन । महाशाखाले त्यही कारण आइतबार राति बारा, पर्सा जिल्लामा एक्कासी आएको हावाहुरीबारे पुर्वानुमान र सर्तकताको सूचना जारी गर्न सकेन । त्यस कारण पनि ठूलो जनधनको क्षति भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ र उच्च भागमा हिमपातको सम्भावना छ भनेर मात्र पूर्वानुमान गर्दै आएको छ । स–सानो क्षेत्रको मौसमी प्रक्रिया पूर्वानुमान गर्न उच्चस्तरको राडरको आवश्यकता पर्छ । तर त्यो नेपालमा छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतमा राडर जडान गरिएपनि सञ्चालनमा आउन सकेको छैन ।
विश्वमा विकास भएका प्रविधि पछ्याउने हो भने सम्भावित विपत्तिको पूर्वसूचना जारी गरि क्षति कम गर्नसकिन्छ । विभागले पाल्पा र उदयपुरमा समेत राडर जडानका लागि प्रक्रिया सुरु गरेको छ । एउटा राडर जडानका लागि ३० करोड रुपैया मात्र बजेट आवश्यक पर्छ । तर, सरकारले बजेट विनियोजन नगरिदिदा राडर जडान सम्भव भएको छैन ।
विगतमा पनि यस्ता किसिमका घटनाहरु भएकाछन् । पछिल्लो समय विपदपछिको उद्धार र राहतमा सरकारले आफ्नो सक्रियता थोरै बढाएपनि विपद न्यूनीकरणका लागि खासै जोड दिएको देखिदैन । त्यसैले सरकारले जनधनको क्षति कम गर्नका लागि पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने विपद व्यवस्थापन विज्ञ बताउछन् ।
जल तथा मौसम विज्ञान विभाग स्थापना भएको ५० वर्ष पुगेपनि सरकारले उक्त विभागमा आवश्यक प्रविधि र जनशक्तिको व्यवस्थामा ध्यान नदिदा प्रभावकारी पूर्वानुमान हुन सकेको छैन । त्यसैले मौसमी पूर्वानुमान प्रणालीलाई वैज्ञानिक र विश्वसनीय बनाउन राज्यले मौसम पूर्वानुमानलाई गम्भीर ढंगले लिनुपर्ने देखिन्छ ।