श्याम गुप्ता-महेश दास
बारा, १९ चैत । आइतबार साँझको भीषण हुरीले निम्त्याएको बिनाशले बारा र पर्साका बासिन्दा अहिले शोकमा डुबेका छन् । अप्रत्यासित रुपमा आएको प्राकृतिक विपद्ले बाराको क्षेत्र नम्बर–४ र आसापासका क्षेत्रलाई उजाड बनाइ दिएको छ ।
आइतबार साँझको भीषण हुरीले बाराको क्षेत्र नम्बर–४ को फेटा गाउँपालिका वडा नं. ६ पुरैनिया र वडा नं १ भलुहिभरवलिया र आसपासका क्षेत्रहरुलाई भग्नावषेशमा परिणत गरेको छ । ढलेका रुख, भाँचिएका पोल, भत्किएका घरहरु अनि त्यही घरको भग्नावशेष माथि पुर्पुरोमा हात राखेर बस्न बाध्य पिडितहरु ।
त्यहाँका बासिन्दाले आफ्ना गाँस, बास कपास त गुमाए नै । धेरैले आफ्नो आफन्तहरु समेत गुमाएका छन् । कोही रोई कराउँदै छन् त कोही मुर्छित समेत भएका छन् । एकातिर आफन्त गुमाउनुको पीडा अर्काे तिर गाँस बासकै समस्या ।
शिर माथिको छाना नै उडाएपछि अहिले खुला आकास मुनि बस्न बाध्य पिडितहरुले पेट भरी खान पाएका छैनन् । आँसुले भरिएका आँखाहरु अहिले राहतको बाटो हेर्दै छन् । खाद्यन्नको अभावमा पीडितहरु भत्केको घरले पुरिएका अन्न पाउने आशामा खनखान गरिरहेका छन् ।
हुरी बतास प्रभावितहरु अहिले, कहाली लाग्दो भग्नावशेष हेर्दै दिन त जसो तसो काटिरहेका छन् तर जब रात पर्न थाल्छ उनीहरुको लागि समय झन् भयवीत बन्छ । हुरीले बीजुलीका पोलहरु ढलेपछि उनीहरु अँध्यारोमा मैन र टुकीको सहारामा रात काट्न बाध्य छन् ।