काठमाडौं, १८ चैत । धानमार्ग मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो ।
धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । रनवे मर्मतका क्रममा प्रत्येक दिन राती १० बजेदेखि बिहान ८ बजेसम्म बिमानस्थल बन्द रहनेछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती हुने छैन । पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्रे परिवर्तन हुनेछ ।
दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ । लामो समयदेखि धावनमार्गको कालोपत्रे उप्किँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत गर्ने योजना बनाएको हो ।