काठमाडौं, १७ चैत । काठमाडौंको बाहिरी चक्रपथ विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गर्ने तयारी गरिएको छ । आइतवार बसेको संसदको बिकास समितिको बैठकमा काठमाडाैं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले सो आयोजनाका लागि आवश्यक जग्गाको व्यवस्थापन सहज ढंगले गर्न पनि त्यसको डिपीआर संशोधन गर्न लागिएको जानकारी दिए ।
उनले बाक्लो बस्ती भएको ठाउँबाट नभई अन्यत्रबाट सो आयोजनाको कामलाई अघि बढाउन पनि डिपीआर संशोधन गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे । उनले जग्गाको मुआब्जालाई लिएर हुने विवादका कारण तथा आवश्यक बजेटको समेत व्यवस्था नहुँदा सो आयोजनाको काम अघि बढाउन नसकिएको बताए ।
करिव १ खर्व लागतमा निर्माण हुने अनुमान गरिएको सो आयोजनामा चक्रपथ निर्माणका लागि करिव ७२ अर्व र पीडित पक्षलाई क्षतिपूर्ति दिन करिव २८ अर्व खर्च हुने प्राधिकरणको अनुमान छ ।
बैठकमा समितिका सदस्य टोपबहादुर रायमाझीले मुलुकलाई समृद्ध बनाउने गरी विकास, निर्माणको कामलाई अघि बढाउन ठोस योजना नै तय गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
समितिका अर्का सदस्य गणेशकुमार पहाडीले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक ऐन, कानुन संशोधन गर्न सरकारसँग माग गरे । उनले स्मार्ट सिटी बनाउने सरकारको लक्ष्य पनि ठोस योजनाको अभावमा अलपत्र परेको भन्दै असन्तुष्टि व्यक्त गरे । समितिका सदस्यहरुले विकास आयोजनाको कामलाई अघि बढाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताएका थिए ।