गोपाल पोखरेल
होम्ताङ-भोजपुर, १७ चैत । भोजपुरको विकट क्षेत्र होम्ताङमा नाङ्लोे उत्पादन गर्ने पेसा करिव १ सय वर्षदेखि निरन्तर चलिरहेको छ । त्यहाँ रहेका झण्डै पाँच सय घर मध्ये ९० प्रतिशत घरमा नाङलो बनाउने काम हुन्छ । गाँउका बृद्धबृद्धादेखि स्कुल पढ्ने बालबालिकासम्म यही पेशामा संलग्न छन् ।
होम्ताङ भोजपुर जिल्लाको विकट क्षेत्रको एउटा अत्यन्तै दुर्गम गाउँ । जहाँ झण्डै एक शताब्दीदेखि जिविकोपार्जनका लागि एउटै पेसा निरन्तर चलिरहेको छ । गाउँका सबैजना एउटै पेसा गर्छन् । गाँउका हजुरबुबा हजुरआमादेखि नाती नातिनीसम्म सबैको हातमा एउटै सीप, झट्ट सुन्दा विश्वास गर्न गाह्रो । तर, भोजपुरको विकट हतुवागढी गाउँपालिका को वडा नं. ६ होम्ताङ पुग्दा भने यस्तै दृश्य देख्न सकिन्छ ।
होम्ताङमा रहेका करिब पाँच सय घर मध्ये ९० प्रतिशत घरमा नाङलो उत्पादन हुने गर्दछ । नाङलो बनाउने पेशाबाट नै त्यहाँका स्थानीयहरु वर्षौँदेखि आफ्नो जिबिकोपार्जन गर्दै आएका छन् । परिवारका सदस्यहरु धेरै हुनेहरुले त्यही अनुसार नै आम्दानी गर्न सकिने स्थानीयहरुको भनाई छ ।
हजुरबुबाको पुस्ताबाट नातीसम्म हस्तान्तरण हुँदै आएको नाङ्लो बनाउने सीप पनातीसम्म पुगेको छ । मासिक २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाइ गर्ने त्यहाँका गाउँलेले केही वर्ष अघिसम्म नाङ्लो बिक्रीकालागि सुनसरीको चतरा र धरान लैजानु परेतापनि अचेल गाउँबाटै बिक्री हुन थालेको छ । प्रतिगोटा ७० रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म नाङ्लो गाउँमै खरिद हुन्छ । बनाइएका नाङलोहरु भारतसम्म खपत हुने गरेको छ ।
यसरी पुरै गाउँ लामो समयदेखि निरन्तर एउटै पेसामा संलग्न भइरहँदा र पछिल्लो पुस्तासम्म सीपको हस्तान्तरण भइरहदा पनि सरकारी स्तरबाट भने कुनै चासो, खोजि र सहयोग हुन सकेको छैन । यस बर्ष मात्रै वडा कार्यालयले नाङ्लो उत्पादन कार्यलाई सामुहिकरुपमा अगाडि बढाउन केही रकम बिनियोजन गरेको वडाध्यक्ष सागर राईको भनाई छ ।
हेर्दा सामान्य लागेपनि शताब्दीदेखि निरन्तर जिविकोपार्जन गर्दै आएको नाङ्लो व्यवसाय होम्ताङबासीको पहिचान बनेको छ । सिपको हस्तान्तरणसँगै पछिल्लो पुस्तामा यस व्यावसायप्रति देखिएको उत्साहले होम्ताङबासीको यो पेशाले अझै निरन्तरता पाउने देखिन्छ ।