वीरगन्ज, १७ चैत । थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् ।
नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो ।
बहिनीलाई पहिलोपल्ट माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए । मनोहर आफूसँग त्यति पैसा नभएकाले बुबालाई जानकारी गराउन भन्दै बहिनीलाई घर लिएर आएका थिए । स्थानीय प्रशासनमा सुनीताले दिएको निवेदनमा उल्लेख छ, ‘डा. सचितानन्दले बुवा कमलप्रसाद यादवलाई मारुती कार र घर खरिदका लागि पैसा माग गरेका थिए, बुबाले हाल त्यति धेरै पैसा दिने क्षमता नभएको जवाफ दिएका थिए ।’
निवेदनअनुसार घर फर्केपछि उनीमाथि झन् दुर्व्यवहार हुन थाल्यो । ०६२ जेठ २१ मा गरगहना र कपडा खोसेर वीरगन्जको घरबाट निकालिदिए । उनी हरपतगन्जस्थित पुरानो घरमा बस्न थालिन् । एउटा कागजमा सही गर्न नमानेपछि मट्टीतेल छर्केर आगो लगाउने प्रयाससमेत भएको थियो । स्थानीयका अनुसार मट्टीतेल छर्केपछि सुनीता चिच्याउँदै घरबाहिर निस्किइन् । भागेर माइती पुगिन् । त्यसलगत्तै जिल्ला प्रशासनमा उजुरी गरेकी हुन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




