लगानी सम्मेलन : ७७ आयोजना ‘शो–केस’, १५ वटासँग सम्झौता | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

लगानी सम्मेलन : ७७ आयोजना ‘शो–केस’, १५ वटासँग सम्झौता

investment summit

काठमाडौं, १७ चैत । विभिन्न १५ वटा आयोजनामा सम्झौता गर्दै नेपाल लगानी सम्मेलन– २०७५ मा सम्पन्न भएको छ । सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘शो–केस’ मा राखेको भए पनि १५ वटा आयोजनाको सम्झौता भएको हो ।

‘शो–केस’ मा राखिएका आयोजनामध्ये १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो देखाएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार विभिन्न १७ वटा आयोजनामा शुल्क तिरेर लगानी गर्ने चासो राख्दै प्रस्ताव आएको छ । यद्यपि, अप्रिल २० तारिखसम्म ‘शो–केस’ मा राखिएका आयोजनामा आवेदन दिन सकिनेछ ।

सम्झौता भएका आयोजनामा पूर्वाधार तथा यातायात क्षेत्रका ७ वटा, ऊर्जामा ४, कृषिमा ३, शिक्षा तथा स्वास्थ्यका २ र एक लजिस्टिक पार्कमा वैदेशिक लगानी आउने भएका छन् । सम्मेलनका क्रममा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र र सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरेको थियो ।

सम्मेलनमा नेपालको चौधरी ग्रुप र भारतको सर्राफ ग्रुपबीच लजिस्टिक पार्क बनाउन सम्झौता भएको छ भने ६ सय मेगावाट सोलार प्लान्ट स्थापन गर्न चौधरी ग्रुप र क्यानडाको स्काई पावरबीच समझदारी भएको छ । सौर्य ऊर्जाको प्लान्ट राख्नका निम्ति चौधरी इन्फ्रास्टक्चर कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरी र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच शनिबार नै सम्झौता भएको छ ।

त्यस्तै ५ जी नेटवर्क विस्तारको लागि सिजी ग्रुप र टर्कीको लाइफ सेलबीच सम्झौता भएको छ । २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका निर्माणका लागि कोरियाली कम्पनी कोसेव पावर कम्पनी र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी) ले ६५० मिलियन डलर लगानी सहमति गरेका छन् ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।