काठमाडौं, १७ चैत । लगानीकर्ताहरूले नेपालका १५ वटा परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार सम्पन्न लगानी सम्मेलनमा ऊर्जा, यातायात पूर्वाधार र प्रस्तावित ७७ परियोजनामध्ये १५ वटामा लगानी गर्न दुई पक्षबीच समझदारी भएको हो । सरकारले आयोजना गरेको सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा सरकारले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी कुल ३४ खर्ब ५८ अर्ब रुपैयाँका ७७ आयोजना प्रदर्शनीमा राखिएको थियो ।
सम्मेलनमा चौधरी गु्रपले चारवटा परियोजनामा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । गु्रपले तीनवटा विदेशी कम्पनीलाई ल्याउनेछ । ग्रुपले मल्टी मोडल लजिस्टिक पार्कका लागि सराफ गु्रपसँग सम्झौता गरेको छ । त्यसैगरी ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काई पावर कम्पनीलाई भिœयाउने भएको छ । चौधरी ग्रुपले सिजी लाइफसेल टेलिकमको साझेदार टर्कसेलसँग पनि समझदारी गरेको छ ।
समझदारीपत्रमा चौधरी गु्रपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरी र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । चौधरी ग्रुपले सोलार प्लान्ट राख्न प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ । समझदारीपत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हस्ताक्षर गरेका छन् ।
भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको अरुण तेस्रोमा थप लगानी जुटेको छ । नौ सय मेगावाटको उक्त परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन् । परियोजनामा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्टले ८ अर्ब १२ करोड ६१ लाख र नबिलले ४ अर्ब ८७ करोड ५८ लाख ऋण दिने प्रतिबद्धता जनाएका छन् ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।