काठमाडौं, १५ चैत । काठमाडौंको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सडक छेउका पेट्रोल पम्पलाई स्थानान्तरण गरिने भएको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्रमुख समस्याको रूपमा रहेको सडकमा हुँदै आएको ट्राफिक जाम नियन्त्रणका लागि यस्तो योजना अगाडि सारेको हो । यसका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्णयअनुसार एक महिनाअघि बनेकोे महानगरपालिका, सडक विभाग, ट्राफिक प्रहरी र नेपाल आयल निगम सम्मिलित संयुक्त कार्यदलले अध्ययन गरिरहेको छ ।
कार्यदल संयोजक तथा महानगरका सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार साँघुरा र सडक छेउका पम्पका कारण ट्राफिक व्यवस्थापन असहज भएको र आगलागीजस्ता सम्भावित समस्याबाट सजग रहन महानगरपालिकाले अध्ययन गरिरहेको बताए । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाले नगर क्षेत्रका ट्राफिक समस्यालाई योजनाबद्ध रूपमा समाधान गरिरहेको बताए । उनले यस क्रममा लागु गरिएको
‘पिक एन्ड ड्रप’को नतिजा राम्रो देखिएको र दीर्घकालीन समाधानका लागि पेट्रोल पम्प स्थानान्तरण गर्न लागिएको बताए । यसको विकल्पको रूपमा नजिकै रहेका स्थानमा सार्ने तथा स्थान अभाव भएका पम्पबारे समितिले प्रतिवेदन पेस गरेपछि आवश्यक निर्णय लिइने उनले बताए ।
राजधानीको ट्राफिक समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले कोटेश्वरको जाम कम गराउन वैकल्पिक सडकको रूपमा बाग्मती करिडोरको उपयोग गरी जाम घटाउने, चाबहिल, माइतीघरलगायतका स्थानमा स्काइब्रिज बनाउनेलगायत स्मार्ट जेब्रा क्रसिङ, स्मार्ट पार्किङलगायतका योजना सार्वजनिक गरी कार्यान्वयन गरिरहेको छ । यसअघि समेत महानगरपालिकाले ट्राफिक
प्रहरीसँग समन्वय गरी ‘नो हर्न’ कार्यक्रम लागु गरेको थियो । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत पौडेलले ल्याएको यस योजनाले महानगरको ध्वनी प्रदूषणलाई ७० प्रतिशतसम्म कमी ल्याएको निभिन्न अध्ययनबाट देखिन आएको थियो ।
राजधानी काठमाडौंलाई विश्वको घुम्नैपर्ने संसारको १० सहरको सूचीमा पाँचौ स्थानमा पर्न सफल भएको थियो । जसमध्ये राजधानीको ट्राफिक समस्याका कारण निम्तिएको ध्वनि प्रदूषणमा कमी आएका कारणसमेतलाई चर्चित अमेरिकी ट्राभल गाइड बुक ‘लन्ली प्लानेट’ले उल्लेख गरेको छ ।
पेट्रोल पम्प सञ्चालनका लागि कम्तीमा डेढ रोपनी जग्गा हुनुपर्ने नियम रहेको छ भने सडक तथा बस्तीबाट केही दूरीमा रहनुपर्ने हुन्छ ।
तर, महानगर क्षेत्रमा रहेका अधिकांश पेट्रोल पम्प सडकको नजिकै रहेका छन । यसकारण पेट्रोलको लाइनका कारण सहज अवस्थामा पेट्रोल पाईने अवस्थामा समेत सडकमा असर पर्ने गर्दछ । यस अवस्थामा महानगर क्षेत्रका १५ भन्दा बढी स्थानका पेट्रोल पम्प स्थानान्तरण वा अन्य व्यवस्था गर्नुपर्नेहुन्छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।