काठमाडौं, १५ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकामा रहेका केही नेपालीले देशलाई नकारात्मक भावले हेरेकाे बताएका छन् । पत्नी सिताको उपचार गरी बिहीबार अपरान्ह स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र र नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च नेतृत्वप्रति नकारात्मक भावले हेर्ने केही नेपाली रहेको टिप्पणी गरेका हुन् ।
अध्यक्ष दाहालले आफूमाथि मेरिल्याण्ड अदालतमा उजुरी परे पनि कुनै अप्रिय नभएको र नेपाली दुतावासले केही हुन नदिने व्यवस्था गरेकाे बताए । उनले पत्नीकाे अमेरिकास्थित तीन वटा अस्पतालमा उपचार गराएकाे र चिकित्सकले दिएकाे औषधिले सकारात्मक प्रभाव पारेको जानकारी दिए । उनले त्यसका अतिरिक्त अमेरिकास्थित नेता, कार्यकर्ता र नेपाली बुद्धिजीविसँग छलफल गरेकाे बताए । यस अवसरमा उनले वासिंगटन र मेरिल्याण्ड राज्यका सांसद र जनप्रतिनिधिसँग भेट गरी द्विपक्षीय हितमा कुरा गरेकाे जानकारी दिएका थिए ।
अध्यक्ष दाहाल गत चैत्र ३ गते आइतबार पत्नीको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए । दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित छिन् । यो समाचार आजको नयाँ पत्रिकामा लेखेको छ ।