काठमाडौं, १४ चैत । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुटपाटमा संलग्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई समर्थन गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको चर्को आलोचना गरेका छन् ।
प्रधानमन्त्री ओलीले हुँदै नभएको चन्द नेतृत्वको लुटेरा समूहलाई पार्टीको नामाकरण गरेर काँग्रेस आफै समस्यामा परेको दावी गरे । कहिँकतै दर्ता नभएको चन्द नेतृत्वको नेकपालाई काँग्रेसले समर्थन गर्नु दुःखद भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेस हेर्दा हेदै ओरालो लागेर कहाँ पुग्यो भनि टिप्पणी गरे । प्रधानमन्त्री ओेलीले अपराधिक गिरोहको रुपमा गतिविधि गरिरहेको चन्द नेतृत्वको समूहलाई प्रतिवन्ध लगाइएको उल्लेख गर्दै सरकारले समाजमा हुने कुनै पनि अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने चेतावनी दिए । गृहमन्त्रीले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गरेकोमा विरोध गर्ने काँग्रेस बैचारिक रुपमा समेत स्खलित भएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले पार्टी भित्रको सांगठनिक एकीकरणको काम केही दिन भित्रै टुंग्याउने बताए । उनले पार्टी भित्रको असन्तुष्टिलाई सार्वजनिक ठाउँमा प्रचार गर्दै हिड्ने अनुशासनहिन काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
उनले देशीविदेशी प्रतिक्रियावादीहरुले पार्टीलाई एकतावद्ध हुन नदिने कोसिस गरिरहेको उल्लेख गर्दै सचेत रहनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सरकारले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी र प्रविधि दुवै भित्र्याउन चाहेको पनि स्पष्ट पारे ।