काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादको विषय अख्तियारमा विचाराधीन रहेको अवस्थामा पाठकले पदीय मर्यादाविपरीत कलेज अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
कलेजका अध्यक्ष न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । अख्तियारले विशेष अदालतमा बुझाएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।
अभियोगपत्रमा पाठकविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही माग गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घुस लिने व्यक्तिलाई बिगोबमोजिम जरिवाना हुने उल्लेख छ । सो दफामा ५० लाखदेखि १ करोड रुपैयाँसम्म घुस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
अख्तियारले संवैधानिक निकायमा रहेको उच्च व्यक्तिमाथि मुद्दा चलाएको यो नै पहिलोपटक हो । यही नजिरलाई आधार बनाएर आयोगले अख्तियारका पूर्वआयुक्त, प्र्रधानन्यायाधीश, संवैधानिक आयोगका आयुक्तलाई भ्रष्टाचार मुद्दा चलाउन सक्नेछ ।
पाठकविरुद्ध मुद्दा चलाउन अख्तियार प्रमुख नवीन घिमिरेको अध्यक्षताको बैठकले निर्णय गरेको थियो । आयोगको निर्णयपछि पाठकविरुद्ध मुद्दा चलाउन एक महिनाअघि अख्तियारले मुद्दा चलाउने कानुनी आधारबारे महान्यायाधीवक्ता कार्यालयसँग राय माग गर्दै पत्र लेखेको थियो । अख्तियारले माग गरेअनुसार महान्यायाधिवक्ताको कार्यालयले संविधानअनुसार पूर्वआयुक्तलाई कारबाही गर्नका लागि कुनै कानुनी अड्चन नरहेको र अनुसन्धान गर्न स्पष्ट व्यवस्था भएको भन्दै राय पठाएको थियो ।
महान्यायाधिवक्ता कार्यालयको रायपछि अख्तियारले तीन सदस्यीय समिति गठन गरेर प्रक्रिया थालेको छ । अख्तियारले कारबाही प्रक्रिया अघि बढाउन थप प्रमाण जुटाउने कार्य भइरहेको जनाएको छ । पाठकको विषयमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले थप प्रमाण अख्तियारमा बुझाएपछि पाठकविरुद्ध थप कारबाही प्र्रक्रिया अगाडि बढाउने बाटो खुलेको थियो ।