काठमाडौं, ९ चैत । आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्रा परीक्षार्थी बढी देखिएका छन् । मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो ।
शिक्षा पक्रकार सञ्जाल (इजोन) ले शुत्रबार गरेको अन्तर्क्रियामा परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक विष्णु अधिकारीले परीक्षा फाराम भरेकामध्ये छात्रा बढी रहेको जनाएका हुन् ।कुल परीक्षार्थीमा छात्रा बढी देखिए पनि प्रदेश २ मा भने कम छन् । प्रदेश २ बाट ७० हजार ५ सय ६८ परीक्षार्थीमध्ये छात्र ३७ हजार ४१ र छात्रा ३३ हजार ५ सय २७ छन् । जुन ४ हजार ५ सय १४ ले कम हो । विद्यालयमा छात्राको उपस्थिति कम रहेको पाइएपछि प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ ।
यस वर्ष देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका निम्ति केन्द्राध्यक्षलगायत ७२ हजार ६ सय ३१ जनशक्ति प्रत्यक्ष खटिने जनाइएको छ । साधारण, संस्कृत र प्राविधिक धारका गरी ९९ विषयको परीक्षा लिइने छ । यस पटकदेखि परीक्षा व्यवस्थापन प्रदेश सरकारले गर्दैछ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।