रेशम चौधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग
काठमाडौं, ४ चैत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनले मुलुकमा बेरोजगारी बढ्दै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको भन्दै चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारले नीति गलत भएको प्रतिक्रिया दिए ।
उनले चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई सुझाव दिए ।
संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे । राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर जनताबाट निर्वाचित सांसदलाई जन्मकैदको फैसला गर्नु असंगत भएको उल्लेख गर्दै उनले सो समस्यालाई राजनीतिक रुपले समाधान गर्दै चौंधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे ।
नयाँ शक्ति पार्टी, नेपालले आमाको नाममा नागरिकता पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ । संयोजक भट्टराईले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकप्रति आपत्ति जनाउँदै त्यसमा आमाको नाममा नागरिक पाउने व्यवस्था तत्काल गर्न पनि सरकारको गम्भिर ध्यनाकर्षण गराए ।