बिमल जैरु
डडेल्धुरा, २ चैत । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा केही समय यतादेखि कुष्ठ रोगको संक्रमण बढ्दै गएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आठ वर्ष यता जिल्ला स्तरमा कुष्ठ रोग निवारण सम्बन्धी कार्यक्रममा कमी आएसंगै सुदूरपश्चिम प्रदेशमा कुष्ठ रोगको संक्रमण बढ्दै गएकोे हो ।
डडेल्धुरा अस्पतालमा मात्रै गएको आर्थिक वर्षमा १८ जनाले कुष्ठ रोगको उपचार गराएका थिए भने चालु आर्थिक वर्षको नौ महिनामा मात्र १७ जना कुष्ठरोगका विरामीहरुले उपचार गराउन आएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
डडेल्धुरा अस्पतालमा सुदूरपश्चिमका नौ वटै जिल्लाका विरामीहरु कुष्ठरोगको उपचार गराउन आउने गरेका छन् । सन् २०१० यता जिल्ला स्तरमा कुष्ठ रोग निवारण सम्वन्धी कार्यक्रममा कमी आएसंगै सुदूरपश्चिम प्रदेशमा कुष्ठ रोग संक्रमितको सख्ंयामा बृद्धि भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली र कञ्चनपुर जिल्लामा कुष्ठ रोगीको संख्यामा वृद्धि भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । पाँच वर्षको अवधीमा डडेल्धुरा अस्पतालमा मात्रै ९८ जना कुष्ठ रोगीका विरामीले उपचार गराएका छन् ।
जसमा ५० जनाले अन्तिम अवस्थामा अस्पताल पुगी उपचार गराएका थिए । कुष्ठ रोगका वारेमा जनचेतनाको अभावका साथै उपचार गराउनका लागि लाज मान्ने भएकाले घरमै लुकेर बस्ने र शरिरको अंग भंग भएपछि मात्रै उपचारमा आउने गरेको पाइन्छ ।
अज्ञानाताका कारण अझै पनि विरामी खुल्न सकेका छैनन् । घरमै लुकेर बस्ने गर्छन । त्यसरी लुकेर बस्दा पछि परिवारमा सर्दा सुदूरपश्चिम प्रदेशमा कुष्ठ रोगीको संक्रमण बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग देवता रिसाएपछि लाग्छ भन्ने अन्धविश्वास अझै पनि यथावत नै छ । लक्षण देखिने बितिक्कै उपचार गराएमा सहजै निको हुने कुष्ठ रोग अज्ञानताकै कारण बढ्दै गईरहेको जानकारहरु बताउँछन् ।