काठमाडौं, २५ फागुन । सिंहदरबार परिसरभित्र मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिन खाली गरिने भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार त्यहाँ चारवटा मात्र क्यान्टिन राख्ने बताइएको छ। टेन्डर प्रक्रियामार्फत स्वीकृति नलिएका क्यान्टिन खाली गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले चासो राखेपछि क्यान्टिन खाली गर्ने तयारी भएको स्रोतको भनाइ छ। हाल कृषि तथा पशुपन्छी विकास, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, पर्यटन, भूमि व्यवस्था तथा सहकारी र महिला तथा बालबालिक मन्त्रालय परिसरमा खोलिएका सात वटा क्यान्टिन बन्द भइसकेको सचिवालयल व्यवस्थापन कार्यालयले जनाएको छ।
स्रोतका अनुसार मन्त्रालय मन्त्रालयका कर्मचारीहरू कार्यालयभन्दा क्यान्टिनमा व्यस्त हुने, कार्यालय प्रयोजनका लागि तयार भएका भवनमा क्यान्टिन बनाउँदा त्यसबाट फोहोर उत्पन्न हुने तथा सुरक्षाका कारणले समेत मन्त्रालयपिच्छे खोलिएका क्यान्टिन बन्द गर्नुपरेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले सिहंदरबार परिसरमा टेन्डर प्रक्रियाअनुसार स्वीकृति नलिइएका क्यान्टिन बन्द गर्न निर्देशन दिएको जानकारी दिए। ‘स्वकृति नलिई खोलिएका क्यान्टिनका कारण फोहोर उत्पन्न भएको र सुरक्षाका कारणबाट समेत क्यान्टिनलाई व्यवस्थित गराउनुपरेको हो,’ उनले भने।
सिंहदरबार सचिवालयका प्रमुख रविन्द्र बोहराका अनुसार आगामी तीन वर्षभित्र सिंहदरबारमा चारवटा मात्र क्यान्टिन राख्ने तयारी भइरहेको छ। अब सिंहदरबारमा केन्द्रीय क्यान्टिनसँगै संघीय संसद् सचिवालय परिसर र अर्थ मन्त्रालय परिसरमा खोलिनेछन्। चारवटा क्यान्टिन फरकफरक ठाउँमा राख्ने योजनाअनुसार चौथौ क्यान्टिन उद्योग मन्त्रालय परिसरमा राख्ने सम्भावना रहेको पनि उनले जनाए। उनले भने, ‘मन्त्रालयैपिच्छे खोलिएका क्यान्टिनमध्ये केही क्यान्टिन टेन्डर प्रक्रियाअन्तर्गत स्वीकृति लिएर खोलिएका छन्। प्रक्रियागत किसिमबाट कुनै क्यान्टिनले दुई वर्ष र कुनैले तीन वर्षसम्मका लागि टेन्डर स्वीकृति लिएका छन्। त्यस्ता क्यान्टिन तत्काल बन्द गर्न सकिन्न।’
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।