अन्न बुझाऊ, खोला तर | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

अन्न बुझाऊ, खोला तर

anna bujhau khola tara

विराटनगर, १८ फागुन ।  मोरङको जहदा गाउँपालिका-१ र २ को सिमानास्थित पिपरा घाट भएर बग्ने सिंघीया खोलामाथि बाँसको भाटा प्रयोग गरी बनाइएको अस्थायी कच्ची पुल छ। यो पुल भारतीय नागरिक ७५ वर्षीय जगमलाल रामले कात्तिकमा बनाएका हुन्। भारत विहार फूलकाहीका राम त्यही पुल छेउको ऐलानी जग्गामा झुपडी बनाएर श्रीमतीसहित बस्छन्।

उनी बस्ने जमिन भने नेपालको हो। चार छोराछोरी भारतमै बस्छन्। प्रत्येक वर्ष कात्तिकमा बाँसको भाटा प्रयोग गरी उनी पुल बनाउँछन्। यो पुलले एक वर्ष धान्छ। बाँसका भाटा मक्किन थालेपछि राम नयाँ पुल बनाउँछन्।

पुल बनाउन लाग्ने सबै खर्च उनकै हुन्छ। उनले बाँसको भाटा प्रयोग गरी बनाएको ३२ फिट लामो पुल हुँदै स्थानीय बासिन्दालाई खोला तर्न केही सहज भएको छ। खोलाबाट सम्भव नभएपछि स्थानीय साइकल, मोटरसाइकलसमेत यही पुलबाट तार्छन्। पुल प्रयोग गर्ने स्थानीयले रामलाई ‘ट्याक्स’ बुझाउनु पर्छ। स्थानीयले बुझाउने ‘ट्याक्स’ को प्रकृति भने फरक छ। उनीहरू खोला तरेबापत रामलाई रकम बुझाउँदैनन्। वार्षिक रूपमा धान, गहुँलगायत अन्न बुझाउँछन्।

जाहदा-२ हरिनगराका सुनील राजवंशीको परिवारका सदस्यले वर्षभरि यो पुल प्रयोग गर्नुपर्छ। उनको परिवारका सदस्यले हरिनगराबाट भारतको जोगबनी, विराटनगरको रानी, विराटनगर बजारलगायत स्थानमा पुग्न पुल प्रयोग गर्नै पर्ने बाध्यता छ। पुल प्रयोग गरेबापत सुनीलले वर्षको एक मन (४० किलो) धान र १० किलो गहुँ रामलाई बुझाउनुपर्छ। ‘यो पुल भएर दैनिक हिँड्नुपर्छ’, सुनीलले भने, ‘पुल प्रयोग गरेबापत वर्षभरको एकै पटक धान र गहुँ बुझाउँछु।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।