काठमाडौं, ३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन् ।
अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि समस्याको समाधान नगरे कहिले गर्ने भनि गम्भिर प्रश्न उठाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित माध्यामिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले धेरै लामो संघर्ष, बलिदान र मिहिनेतपछि प्राप्त यो अवसर सदुपयोग गरेर मुलुकमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न ढिलाई गर्न नहुनेमा उनको जोड छ ।
‘यतिबेला पनि थातिरहेका मुलुकका समस्याहरु समाधान भएनन् भने कहिले हुन्छ ? डर लाग्दो चित्र आफ्नो सामू आउने गरेको’ अध्यक्ष दाहालको भनाई छ ।
उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका काममा गम्भिर बन्न पनि सरकारलाई सुझाव दिए । त्यस अवसरमा अध्यक्ष दाहालले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिरतापूर्वक छलफल गर्ने आश्वासन दिए ।