काठमाडौं, १ फागुन । राजधानीमा चोरीबाट बरामद गरिएका मूर्तिहरुको प्रर्दशन सुरु भएको छ ।
काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्राहलयमा देश भित्र र बाहिर चोरी भई फिर्ता गरिएका ऐतिहासिक तथा पुरातात्विक महत्वका ३६ वटा मूर्तिहरुको प्रर्दशनी बुधबारबाट सुरु गरिएको हो । ३ महिनासम्म चल्ने प्रर्दशनीमा देश भित्र र देशबाहिर चोरी भई बरामद गरिएका ऐतिहासिक कलाले भरिपूर्ण ३६ वटा मूर्तिहरु राखिएको संग्राहलयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । संग्राहलयले हालसम्म ४५ वटा चोरी भएका मूर्तिहरु बरामद गरेको छ ।
संग्राहलयको ८० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रर्दशनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सो प्रर्दशनीले नेपालका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी हुन नदिन जनचेतना जगाउने विश्वास व्यक्त गरे ।
नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले निर्माण गर्नु भएको छाउनीस्थित ऐतिहासिक भवनमा राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले सो संग्राहलयको स्थापना गरेका हुन् । संग्राहलयले आफ्ना हराएका ऐतिहासिक महत्वका मूर्तिलगायतका सम्पदाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ ।