नेपालमै गोली उत्पादन प्रस्ताव भारतद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमै गोली उत्पादन प्रस्ताव भारतद्वारा अस्वीकार

bullets

काठमाडौं, १ फागुन । नेपालमै इन्सास र एम–१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम–१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो ।

उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम–१६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो । तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाइ छ । नेपालले भातबाटै गोलीगठ्ठा किनोस् भन्ने रणनीतिका साथ नेपालमै उत्पादन गर्नुपर्ने प्रस्तावलाई नमानेको हो ।

इन्सास भारतमै निर्मित राइफल हो । एम–१६ भने अमेरिकी अत्याधुनिक हतियार हो । सेनासँग इन्सास राइफलको संख्यामात्रै १५ हजार बढी छ । यसका लागि चाहिने गोलीगठ्ठा भारतबाटै किन्नुपर्ने बाध्यता छ ।इन्सास कास्मिर युद्धमा भारतीय सेनाले प्रयोग गरेर असफल भइसकेको राइफल हो । जुन १० वर्षे सशस्त्र द्वन्द्वकालमा ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा भारतले नेपाललाई उपलब्ध गराएको थियो ।

एम–१६ राइफल निकै भरपर्दो मानिन्छ । यो राइफल सेनासँग केही हजार थान रहेपछि पछिल्लो पटक २ अर्ब १९ करोड रूपैयाँ भन्दा बढी बजेट खर्चेर ६ हजार ४ सय ९२ थान अमेरिकाबाटै खरिद क्रममा छ ।

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र त्यसकै आधारमा सन् १९६० मा भएको रक्षा सम्झौतालाई देखाएर भारतले नेपालमै सुरक्षा सामग्री उत्पादनमा असहयोग गरेको स्रोत बताउँछ ।१९५० को सन्धिको दफा ५ मा ‘नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार-कलपुर्जा, गोलीगठ्ठा, खरखजाना मालसामानको पैठारी गर्ने अधिकार छ, दुई सरकारको परस्परमा सल्लाह गरी यो बन्दोबस्तीलाई चालू गराउने कारबाहीको तय हुनेछ’ भन्ने उल्लेख छ ।यही दफालाई टेकेर सन् १९६० मा दुवै देशका अधिकारीबीच रक्षा सम्झौता भएको थियो ।

यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);