नेपाललाई ‘ट्रान्जिट’ बनाइ इरानीको मानव तस्करी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाललाई ‘ट्रान्जिट’ बनाइ इरानीको मानव तस्करी

Adhyagaman bibhag

काठमाडौं, २९ माघ । मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ। इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरूले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ।

अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरूले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ। ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनमा उनीहरूले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ। उनीहरूले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन्। उनीहरूकै सेटिङमा इरानीहरू जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो।

गृहले सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५ इरानी निष्काशन गरेको थियो। ती सबै तेस्रो मुलुकको नक्कली राहदानीमा युरोप छिर्ने प्रयासमा थिए। जाली भिसा र राहदानीमा नेपाल भित्रने इरानीको संख्या बढिरहेको छ। सिरियालीहरू जाली राहदानी र नक्कली भिसामा आउन थालेपछि सरकारले उनीहरूलाई दिँदै आएको अनअराइभल भिसा सुविधा रद्द गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँको अध्यागमन कार्यालयबारे सम्पूर्ण जानकारी लिएका मानव तस्करले इरानीलाई नेपालको बाटो हुँदै युरोप छिराउँदै आएका छन्।

तेहरानलगायत ठाउँमा विभिन्न पेसा व्यवसाय गरेर बसेका अफगानले इरानीलाई जाली राहदानी र नक्कली भिसामा नेपाल ल्याउने र युरोप पठाउने गरेका छन्। उनीहरूले नै युरोप छिर्ने रुट तय गर्छन्। बेलाबेला इरानीहरू भारतबाट समेत आउने गरेका छन्। नेपालमा इरानीको मानव तस्करीका अन्य आयामको अनुसन्धान गर्नुपर्ने देखिएको छ। अफगानले तय गरेको रुटका तस्करले इरानीलाई सम्बन्धित मुलुकमा आगमनका बेला रिसिभ गर्छन्। त्यही विन्दुबाट उनीहरूले इरानीको नयाँ गन्तव्य तय गर्छन्।

पछिल्लो पटक क्रोएसियाको नक्कली राहदानीमा पक्राउ परेका २ इरानीले आफू तेहरानका अफगानको जालमा परेको स्वीकारेका छन्। अध्यागमन विभागको हिरासतमा रहेका २ इरानी (आमाछोरा)ले क्रोएसियाको नक्कली राहदानी दिलाउने, गन्तव्य निर्धारण गर्नेलगायत काम अफगानले गरेको बयान दिएका छन्। नक्कली राहदानी दिलाउने दलाललाई प्रतिव्यक्ति २ हजार अमेरिकी डलर बुझाएको उनीहरूले बयान दिएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);