काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै सम्पदाहरुको पुनर्निर्माणको काम अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्र भित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कामकार्वाहीप्रति असन्तुष्टि जनाईन् । उनले पशुपतिनाथको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर वरपरको संरचना पूरानै सामग्री प्रयोग गरेर मात्रै बनाउन सचेत गराईन् ।
बिहीबार पशुपति क्षेत्रको अवलोकन पछि उले संचारकर्मीमाझ सिमेन्ट र रड राखेर जथाभावी खाल्डो खनि त्यहाँको संरचना निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पूरानै सामग्री प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन कोषको ध्यानाकर्षण गराईन् ।
उपमेयर खडगीले यस अघि पनि सो क्षेत्रको अवलोकन गरी विश्व सम्पदा सूचिमा परेका विश्वरुपा मन्दिरको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरेकी थिइन् । तर त्यसको सुनुवाई कोषबाट नभएको उपमेयर खड्गीको गुनासो छ ।