काठमाडौं, २३ माघ । आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘कर्णाली वृहत प्रर्दशनी’ हुने भएको छ । मुलुकलाई समृद्ध बनाउने सम्भावनाहरुको खानी रहेको कर्णालीको समग्र पक्षबारे सिंगो देशलाई जानकारी गराउँने उद्देश्यका साथ सो प्रदर्शनी काठमाडौंमा गर्न लागिएको हो ।
कर्णाली प्रदेशका सम्भावनाका खानीहरुबारे सिंगो मुलुकलाई जानकारी गराउने उद्देश्यका साथ सो प्रदर्शनी काठमाडौंमा आयोजना गर्ने निर्णय लिइएको प्रदर्शनी आयोजक समितिका संयोजक उपेन्द्र शाहीले जानकारी दिए ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले कर्णाली सभ्यता, संस्कृति र प्राकृतिक सम्पदाको दृष्टिले सम्पन्न भएकाले सोबारे काठमाडौंलाई विस्तृत जानकारी गराउने सामग्री प्रदर्शनीमा राखिने बताए ।
‘हाम्रा गौरवको पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रदर्शनीमा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा कर्णाली प्रदेशको पर्यटन, कृषि, जडिबुटी तथा जल विद्युत क्षेत्रको सम्भावना र त्यसका लागि आवश्यक लगानीका विषयमा पनि विस्तृत जानकारी लिने व्यवस्था गरिनेछ । ‘भिजिट नेपाल–२०२०’ लाई सफल बनाउन पनि सो प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ ।