अनुप तिवारी
वीरगन्ज, १९ माघ । प्रतिनिधिसभा अन्तर्गतको विकास समितिका सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरुको टोली हुलाकी राजमार्गको स्थलगत अनुगमन गर्न वीरगन्ज आएको छ । टोलीले स्थानीयहरुसँग भेटी निर्माणाधिन हुलाकी राजमार्गको प्रगती अवस्थाबारे जानकारी लिएको छ ।
स्थलगत अवलोकन गर्दा काठमाडौंबाट गएको सांसदहरुको टोलीले प्रतिवेदनमा भनिए अनुसार हुलाकी सडककोे कार्य प्रगती नभएको पाइएको जनाएको छ । हुलाकी राजमार्ग परियोजना राष्ट्रिय गौरवको आयोजना हो ।
यो परियोजनाको निर्माण शुरु भएको एक दशक बितेको छ । ठेकेदार, स्थानीय जग्गाधनी तथा सरोकारवालालाई सरकारी संयन्त्रको निस्क्र्रियताले सडक खण्डको निर्माणले गति लिन नसकेको पाइएको छ ।
पर्सामा हुलाकी राजमार्गको ५७ किलोमिटर भाग पर्छ । यस अन्तर्गत बीरगन्जको प्रतिमा चोकदेखी तिलावेपुलसम्म मुआव्जा विवादले रोकि राखेको काम गत सातादेखि सुरु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद भट्टराईले जग्गाधनी र स्थानिय जनप्रतिनीधिलाई राखेर पटक पटक वार्ता गरेपछि अहिले काम अगाडी बढेको बताए ।
वीरगन्जदेखि तिलावेसम्मको काम सुरु भएपछि अहिले सडक भित्र पर्ने निर्माण संरचना तथा घर टहराहरु हटाउने काम भईरहेको छ । अहिले पनि बहुअर्वादेखि भवानीपुरसम्मको सडक खण्डमा निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले एकवर्षदेखि काम गरेको छैन ।
त्यस्तै भवानीपुरदेखि ठोरीसम्मको हुलाकी राजमार्ग अन्तर्गत बिद्युुत पोलहरु नहटाउंदा पनि निर्माण काममा ढिलाई भएको छ । विकास समितिको अनुगमन टोलीले रोकिएको कामलाई चाँडै अगाडि बढाउन निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको विकास समितिले स्थलगत अनुगमनको क्रममा गरेको अन्तरक्रियामा स्थानिय सरोकारवालाहरुले निर्माणमा भएको ढिलाईबारे सांसदहरुसँग गुनासो गरेका थिए । हुलाकी सडकको मात्र नभई लामो समयदेखि रोकिएको विकासका अन्य योजनाहरु पनि छिटो अगाडी बढाउन समितीले सुझाव दिएको छ ।
संसदीय टोलीले यो साता प्रदेश दुई भित्रका निर्माणाधिन विकास योजनाको अवलोकन गरि सरकारलाई सुझावका साथ निर्देशन दिनेछ ।