छाउप्रथाबारे जानकारी लिँदै सांसद | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

छाउप्रथाबारे जानकारी लिँदै सांसद

chaughot

बाजुरा, १९ माघ । छाउप्रथाबारे जानकारी लिन सङ्घीय सांसदको टोली बाजुरामा आएको छ। प्रतिनिधिसभा महिला तथा सामाजिक विकास उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा आएको टोलीले तीन आमा छोराको मृत्यु भएको स्थानको अवलोकन र सरोकारवालासँग छलफल गर्न बाजुरा आएको हो।

मार्तडीमा सरोकारवालासँग खुला छलफल तथा अन्तरक्रिया पनि गरिएको छ। छाउप्रथा र यसका असर विषयमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि महिला, किशोरीसँग अन्तरक्रिया गरेको छ।

टोलीमा उपसमिति संयोजक सांसद गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, अृमता थापामगर, गङ्गा चौधरी, विमला नेपाली, रुहिनाज मिकरानी र यूएनडिपीका दिलादत्त पन्तसमेत सहभागी छन्।

जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा पुस २४ गते राति तीन आमाछोराको एकै दिन छाउगोठमा मृत्यु भएपछि सो घटना चर्चामा आएको थियो।

छाउप्रथाविरुद्धको कानून बनिसक्दा पनि छाउप्रथाले ज्यान गुमाउनुपर्ने, चिसो गोठमा बस्दा विभिन्न रोगको संक्रमण र असुरक्षित जीवन बिताउनुपर्ने समस्या अझै विद्यमान रहेकाले त्यसको अन्त्य कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले बाजुरा आएको संयोजक ठगुन्नाले बताए।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउप्रथाको बढी समस्या देखिएको र गाई, गोरु बाँध्ने गोठ, बन्द कोठामा सुत्नुपर्ने परिस्थिति अन्त्य गर्नाका लागि स्थलगत अवलोकन गर्न यो टोली बाजुरा आएको सांसद अमृता थापामगरले बताइन्।

मार्तडीमा बिहीबार आयोजित छलफलमा सांसद गङ्गा चौधरीले छाउ मान्ने र मान्न दबाब दिने आमा, बुबा, सासु, ससुरा, श्रीमान् जोकोहीलाई कानूनी कारवाही गर्न समितिले प्रशासनलाई निर्देशन दिइसकेको बताइन्।

छाउपडी गोठ गाई, गोरु बाँध्ने स्थान भएकाले यस्तो स्थानलाई गोठ नभनी छाउकोठा भन्नुपर्ने अन्तरक्रिया कार्यक्रममा बाजुराबाटै प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापाले बताए।

गोठमै आमा छोराको मृत्युपछि छाउगोठ भत्काउन थालिएको छ भने बूढीनन्दा नगरपालिकाले यस्ता व्यवहारमा सबै प्रकारका सुविधासमेत रोक्ने गरी कार्यविधि निर्माण गर्न लागेको छ।

सांसद विमला नेपालीले गोठ भत्काएर मात्र समस्या समाधान नहुने भएकाले मानसिकता नै बदल्ने खालको नीति लिन टोली बाजुरा आएको बताए।

संयोजक ठगुन्नाले यो टोली जिल्ला भ्रमण गर्न मात्र नभई यहाँको वास्तविकता बुझेर त्यसको कार्यान्वयनका लागि पहल गरिने जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);