काठमाडौं, १९ माघ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल माफियामुखी विधेयक आफूलाई स्वीकार्य नभएको भन्दै त्यसलाई सच्याउन राष्ट्रपतिले सदनमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन्। सोह्रौं अनशन सुरु गरेको २४औं दिन शुक्रबार अनशन तोड्दै डा. केसीले सदनबाट पारित चिकित्सा शिक्षा विधेयकको माफियामुखी र विद्यार्थीमुखी प्रावधानविरुद्ध फरक ढंगले संघर्ष गरिरहने स्पष्ट पारे।
उनले आफू सत्यवादी लडाकु भएकाले अनशन स्थगित गरे पनि मेडिकल क्षेत्रमा रहेको माफियातन्त्रविरुद्ध लडिरहने बताए। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति कहिले पनि अपनत्व ग्रहण नगर्ने उनले स्पष्ट पारे। सरकारले आफूसँग गरेको सम्झौताबमोजिम विधेयक नसच्याएसम्म निरन्तर खबरदारी गरिरहने पनि उनले बताए।
डा. केसीलाई त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले संयुक्त रुपमा पानी खुवाएर अनशन तोडाएका थिए।
सरकारले आफूलाई निर्वाचित गर्ने तीन करोड जनताको हितमा हैन, आफूनिकट एक व्यक्तिका लागि कानुन बनाउँदै नीतिगत भ्रष्टाचार तथा जनमतको अपमानको निकृष्ट उदाहरण पेस गरेको उनले आरोप लगाए। यसले सरकार र सत्तारुढ पार्टीको वैधतामाथि गम्भीर प्रश्न उठाएको पनि केसीको भनाइ छ।
‘सुधारकै लागि भनेर यत्रो कानुन निर्माण गर्दा समस्याको मूल जडका रुपमा रहेको सम्बन्धनका विकृतिलाई ज्युँका त्युँ राख्ने, सम्बन्धनको विकृतिलाई कानुनी वैधता दिने र यसबाट मुठ्ठीभरका आसेपासेलाई फाइदा पु-याउने सरकारको नियत प्रस्टै देखिएको छ’, डा. केसीले भने।
चिकित्सा शिक्षा विधेयक पारित गर्ने बेला सरकारले गरेको जबर्जस्ती र अधिनायकवादी प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाएको भन्दै केसीले त्यसरी पारित गरिएको ऐन आफूहरुलाई स्वीकार्य नभएको बताए।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




