'शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार आफै सक्षम' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार आफै सक्षम’

काठमाडौं, १८ माघ । सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफै सक्षम रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँगको ब्रिफिङमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नेपाल आफै सक्षम रहेको प्रष्टयाएको हो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले आफ्नै मौलिकताको आधारमा शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिनेबारे कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई ब्रिफिङ गरिएको जानकारी दिए ।

संयुक्त राष्ट्र संघ र युरोपियन युनियनमा आवद्ध ७ देशले द्वन्द्वकालीन न्यायलाई टुंगो लगाउने सरकारको कार्ययोजनाबारे जानकारी गराउन आग्रह गर्दै संयुक्त विज्ञप्ती जारी गरेको थियो । सोही सम्बन्धमा प्रष्ट पार्न परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेको हो ।

छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले शान्ति प्रक्रियाको कामलाई आफ्नै मौलिकतामा सम्पन्न गरेको नेपालले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगो लगाउने बताएका छन् । उनले कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म, नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता, पीडितहरुको सरोकार, सो सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला लगायतका मार्गदर्शनमा संक्रमणकालीन न्याय निरुपणको कामलाई छिट्टै सम्पन्न गर्ने सरकारको योजनाबारे पनि जानकारी गराएका थिए ।

मन्त्री ज्ञवालीले संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्तिको छानवीन आयोगको म्याद थप गर्ने कार्यलाई पनि सरकारले अघि बढाएको बताए ।

बिफ्रिङमा मन्त्री ज्ञवालीले नेपालको विकासको प्राथमिकताको क्षेत्र र त्यसमा अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोग र समर्थनको आवश्यक्ताबारे पनि विस्तृतमा जानकारी गराएका थिए । सरकारले लिएको ‘समृद्ध नेपाल र सुःखी नेपाली’को नारालाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगबारे पनि कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई स्मरण गराइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकमा कूटनीतिक नियोगका प्रतिनिधिहरुले नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक वातावरण बनाउन के, कस्तो प्रयास भईरहेको छ भनि जिज्ञासा राखेका थिए । नेपालमा आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन हुँदैछ । सो सम्मेलनको तयारीका विषयमा पनि अन्तराष्ट्रिय समूदायलाई विस्तृत जानकारी गराइएको पनि मन्त्री ज्ञवालीले बताए ।

त्यस क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको घोषित परराष्ट्र नीतिको पनि चर्चा गरेका थिए । सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्ने नेपालको घोषित परराष्ट्र नीतिबारे पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई स्मरण गराइएको  मन्त्री ज्ञवालीले बताए ।

ओली नेतृत्वको सरकार बनेएता यो तेस्रो पटक कूटनीतिक नियोगसँग सामूहिक छलफल गरेको हो । छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक सम्बन्ध विस्तारका विषयमा गरिएका पछिल्लो गतिविधिबारे पनि ब्रिफिङ गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);