धुर्मुस सुन्तलीले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धुर्मुस सुन्तलीले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने

२० विगाहा ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने

काठमाडौं, १६ माघ । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ । उक्त क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको हो ।

रंगशाला निर्माणका लागि बुधवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सहमती पत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा फाउन्डेशनका तर्फबाट सीताराम कट्टेल ’धुर्मुस’ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले हस्ताक्षर गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १६ मा रहेको रामपुर कृषि क्याम्पस परिसरमा रहेको २० विगाहा ६ कठ्ठा जग्गामा उक्त रंगशाला निर्माण हुनेछ । रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ ।

रंगशालामा ४ वटा द्वार हुने छन् । जहाँ २५ हजार दर्शकहरु अट्नेछन् । रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेलिने सहमति पत्रमा उल्लेख छ ।

रंगशालाको लागत ३ अर्ब
देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । फाउन्डेसनले ६ महिना भित्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी निमार्णको काम अगाडी बढाउने जनाएको छ ।

घोषणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशाला निर्माणको काममा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सो रंगशाला निर्माणको काममा सहयोग गर्न पनि सबैलाई अपिल गरे ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निमार्णको अभियानमा सबैलाई सहयोग गर्न अपिल गरे । उनले अबको एक दशक भित्र मुलुक नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै निराश हुनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।

पहिलो खेल भारत र पाकिस्तानबीच
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दुई बर्ष भित्र निमार्णको काम सम्पन्न गर्ने गरी काम अगाडी बढाईने बताइन् । उनले रंगशाला निर्माणको काम सम्पन्न भईसके पछि पहिलो खेल भारत र पाकिस्तानबीच खेलाउने योजना रहेको पनि बताइन् ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न आह्वान गरे । उनले सो रंगशाला शिलान्यास गरेको दिन हस्तान्तरणको मिति तोक्ने पनि बताए ।

कार्यक्रममा सो रंगशाला निर्माणका लागि एक दर्जन बढि संस्था र व्यक्तिले सहयोग राशी पनि घोषणा पनि गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);