काठमाडौं, १६ माघ । कानुन विषयमा कलम चलाउनेहरूसँग माघ ६ गते भएको लामो छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (राणा)ले आफूलाई मिडियाले ‘बिग्रिन नदिएको’ भन्दै हँसाए। यो समाचार आजको नागरिक दैनिकमा छ ।
सञ्चारमाध्यममा आफ्नो विरुद्धमा जति अरू कुनै न्यायाधीशको चर्चा नभएको उल्लेख गर्दै राणाले भने, ‘लेखेर मलाई बिग्रन नदिनुभएकोमा तपाईंहरूप्रति आभारी छु।’ अदालत र फैसलाबारे समाचार लेख्दा वा टिप्पणी गर्दा वस्तुपरक हुनुपर्नेमा उनले जोड दिए।
अदालतबारे हुने चर्चाको संवेदनशीलता मुद्दासँग मात्र नभई कानुन व्यवसायी, कर्मचारी र न्यायाधीश एवं समग्र न्याय व्यवस्थासँग सम्बन्धित हुने भएकाले तथ्य, कानुन र नजिरको कसीमा रहेर मात्र लेखिदिन उनले आग्रह गरे।
प्रधानन्यायाधीश राणा अदालत र मिडियाको सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक लागेका छन् । त्यसैले उनले न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा सञ्चार नीति बनाउने जिम्मेवारीसमेत दिइसकेका छन्।
पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले प्रधानन्यायाधीश राणाले चालेको कदमको प्रशंसा गरे। ‘नियत सफा छ भने जुनसुकै सुधारका प्रक्रियालाई नराम्रो भन्न सकिँदैन,’ उनले सोमबार नागरिकसँग भने, ‘नियत खराब छैन भने राम्रो कुुरा हो नि १ इमानदारीपूर्वक भएको कुरालाई राम्रै मान्नुपर्छ । सुधार्नु त परेकै छ। धेरै समय कुर्नु पनि हुँदैन।’