काठमाडौं, १३ माघ । आमरण अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै विवेकशील साझा पार्टीले आईतबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ । व्यापारीलाई पोस्ने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको भन्दै पार्टीका नेता/कार्यकर्ताहरुले आईतबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले डाक्टर केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । पार्टीका संयोजक रविन्द्र मिश्रको नेतृत्वमा आयोजित र्यालीमा सहभागी भएकाहरुले डाक्टर केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर ‘प्रधानमन्त्री ओलीको बोली अर्थहिन भएको’ लेखिएको प्लेकार्डपनि प्रदर्शन गरेका थिए ।