काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा विरोध जारी राखेको बेला जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै यसका विरुद्ध सशक्त विरोधमा उत्रने जनाएको छ।
शुक्रबार सभामुख कृष्णबहादुर महराले जबरजस्ती चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरी पारित गरेको सन्दर्भमा कांग्रेसले असहमति राख्दै सदन र सडकमार्फत सशक्त विरोधमा उत्रने बताएको हो। कांग्रेसले शुक्रबार सदनमा भएको घटनाले सरकार विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने निष्ठामा कायमै रहेको देखाएको पनि जनाएको छ।
कांग्रेसका नेताहरू स्व। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रण दिएको बताउँदै आएको कांग्रेसले प्रतिपक्षको विरोधका बाबजुद पनि चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेपछि थप आक्रोशित भएको छ।
सरकारले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पु¥याएको, डा। गोविन्द केसीको मागलाई बेवास्ता गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध बनाए पनि शुक्रबार विधेयक प्रस्तुत गरी पारित भएको थियो। विरोधले सदनमा मुठभेडको अवस्था सिर्जना हँुदा पनि सरकारको निर्देशनमा सभामुखले सो विधेयक प्रस्तुत गर्न लगाएको कांग्रेसको आरोप छ।
शुक्रबार कांग्रेस संसदीय दलको आकस्मिक बैठकले संसद्लाई सत्ता र शक्तिको लाचार छाया बनाउन लागेको भन्दै कांग्रेस संसदीय दलको बैठकले संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य र संसद्को मर्यादा कायम राख्न संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको छ।
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।