सरकारले २० जनालाई मात्रै मलेसिया जान श्रम स्वीकृति दिएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

सरकारले २० जनालाई मात्रै मलेसिया जान श्रम स्वीकृति दिएको खुलासा

malaysia

काठमाडौं, १० माघ । सरकारले पछिल्लोपटक २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्विकृति दिएको खुलासा भएको छ । बिहीबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सचिव कृष्णहरि खड्काले मलेसियास्थित नेपाली दुतावासको आग्रहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्किृति दिएको जानकारी गराए ।

सरकारले २०७५ साल जेष्ठ २ गते कामदारमाथि बैदेसिक रोजगार कम्पनीहरुले आर्थिक शोषण गरेकोलगायतका कारण देखाउँदै तत्कालका लागि मलेसिया कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही माघ २ गते २० जना कलिङ भीसा लागेकाहरुलाई मात्रै मलेसिया जान श्रम स्विकृति दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

बैठकमा समितिका सदस्यहरुले भने सरकारले २० जनालाई मलेसिया जानका लागि श्रम स्विकृति दिएको भन्दै आपत्ति जनाएका छन । कलिङ भिसा लागेका १० हजार बढि कामदार भएपनि २० जनालाई मात्रै स्विकृति दिएको भन्दै समितिका सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका सांसद प्रमोद साहले आपत्ति जनाए । सांसद साहले २० जना कामदारलाई मात्रै मलेसिया जान श्रम स्विकृति दिनुको पछाडि ठूलै आर्थिक चलखेल भएको हुन सक्ने आशंका पनि व्यक्त गरे ।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सोमप्रसाद पाण्डेले २० जनालाई मात्रै मलेसिया पठाउने सो निर्णय माफियाको जालमा परेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको हुन सक्ने भन्दै आपत्ति जनाए ।

बैठकमा सांसदहरुले कलिङ भिसा लागेका २० जना कामदारलाई मात्रै मलेसिया जान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्विकृति दिएकोमा आपत्ति जनाएपछि समितिका सभापति विमलप्रसाद श्रीबास्तवले सो सम्बन्धमा सरकारसँग आवश्यक छलफल गर्ने बताए ।